कोराना भाइरसविरुद्ध ओली सरकारले लियो ठूलो निर्णय, चीनले गर्यो प्रशंसा


 


काठमाडौं । चीनमा फैलिरहेको कोरोना भाइरसविरुद्ध नेपाल सरकारले नयाँ निर्णय लिएको छ । चीनमा रहेका विद्यार्थी नफर्काएको भन्दै आलोचना भइरहेका बेला सरकारले नेपालमै ३ सय शैय्याको अस्पताल खोल्ने निर्णय गरेको हो । यो निर्णयको चीनले पनि प्रशंसा गरेको छ । आवश्यक सहयोग गर्ने बचन समेत दिएको छ ।

साथै नेपालले एक लाख सङ्ख्यामा ‘प्रोटेक्टिभ माक्स’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री गोकुल बास्कोटाले अस्पताल निर्माण गरिने जानकारी दिए । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको उनको भनाई छ । यही माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए । नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन ।

सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ । टेकु अस्पताल जम्मा ६० श्ययाको छ ।

वुहानमा रहेका नेपालीको स्वास्थ्यवस्थाबारे सरकार संवेदनशील

छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति सरकार संवेदनशील रहेको मनत्री बाँस्कोटाले बताए ।

प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए । “नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्”, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै बाँस्कोटाले भने ।

चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे । “हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, “जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ । चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ ।”

वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उहाँले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए ।

चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरुलाई १४ दिनसम्म अलग–अलग रुपमा ती ठाउँहरुमा राखिने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गरेका थिए । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ती निर्धारित कार्ययोजनाअनुरूप सम्पूर्ण तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी र सम्बद्घ मन्त्रालयका सचिव, सुरक्षा अधिकारी उपस्थित थिए ।

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । सरकारले निवेदन दिएका विद्यार्थीलाई चाँडै नै नेपाल ल्याउनका लागि पहल गरिरहेको छ । चीनबाट आउँदा चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी सङ्क्रमित यात्रुलाई उपत्यकाको ती चार स्थानको ‘आइसोलेशन वार्ड’मा राखी उपचार गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । सङ्क्रमितबाहेक अन्यलाई दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टइन) मा राखिनेछ ।

बैठकमा नेपालले एक लाख सङ्ख्यामा ‘प्रोटेक्टिभ माक्स’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्