अरुण तेस्रोमा ८६ अर्ब भारतीय लगानी


 


काठमाडौं, माघ २३

९ सय मेगावाट अरुण–३ जलविद्युत परियोजनामा लगानी जुटेको छ । बिहीबार आयोजनाका लागि ‘फाइनान्सियल क्लोजर’ वित्तीय ब्यवस्थापन भएको छ ।

आयोजनामा ३० प्रतिशत बढी निर्माणको काम सकिएपछि आयोजनाको वित्तीय स्रोतको टुंगो लाग्न लागेको हो । बिहीबार नेपाल र भारतका ७ वटा बैंकहरुले आयोजनाका लागि १ खर्बभन्दा बढीको लगानी सम्झौता गरेका छन् ।

यो आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा बन्दैछ । स्वपुँजीबाट कम्पनीले १० अर्ब बढी खर्च गरिसकेको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच फाइनान्सियल क्लोजरबारे सम्झौता भयो ।

यो परियोजनामा भारतको एसबीआईका साथै कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इन्डिया र युनियन बैंकले ऋण लगानी गर्दैर्छन् । ८५ अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी भारती बैंकबाट जुटेको छ ।

यसमा नेपालको एभरेष्ट बैंकबाट १० अर्ब २० करोड र नबिलबाट ५ अर्ब १२ करोड रुपैयाँ लगानी हुनेछ । अरुण तेस्रोमा लगानी गर्ने सहमतिपत्रमा २०७५ चैत १६ मा नेपालका नबिल बैंक र एभरेष्ट बैंकले सम्झौता गरेका थिए ।

यो परियोजना निर्माणका लागि सन् २०११ मा १ खर्ब ४ अर्ब लागत अनुगमान गरिएकोमा आठ वर्ष पछि लागत बढेर १ खर्ब ४० अर्व नाघ्ने प्रक्षेपण गरिएको छ ।

कम्पनीका अनुसार १ खर्ब १ अर्ब ३४ करोड बैंकहरुबाट ऋण लिन लागिएको हो । त्यसमध्ये २२ अर्ब रुपैयाँ आवश्यक पदा मात्रै लिने गरी ‘स्ट्यान्ड बाइ लाइन’मा राखिएको छ ।
एसजीभीएनका अध्यक्ष नन्दलाल शर्माले कम्पनीले आगामी ५ वर्षमा १ खर्ब ११ अर्ब ३४ करोड खर्च गर्ने बताए ।

आयोजनाले ३० प्रतिशत काम भएको र निर्धारित समयभन्दा अघि नै विद्युत उत्पादन सुरु हुने बताएको छ । सन् २०२४बाट आयोजनाले उत्पादन थाल्ने लक्ष्य छ ।

यो परियोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत निगम एसजेभिएनले बनाउँदैछ ।

सरकारले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता पीडीए गरी यो जिम्मेवारी सतलजलाई दिएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैसाख २९ गते नयादिल्लीमा स्वीच थिचेर अरुण तेस्रो परियोजनाको संयुक्त शुभारम्भ गरेका थिए । अहिले आयोजनाको सुरुङ र बाँधको काम भइरहेको छ ।

अरुण तेस्रो आयोजनाबाट उत्पादन हुने कुल विद्युतको २१।९ प्रतिशत अर्थात १९७।१ मेगावाट नेपाल सरकारले निःशुल्क पाउनेछ ।
आयोजनामा विद्युत प्रसारण लाइनको निर्माणको काम पनि भइरहेको छ । संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारण लाइन महोत्तरीको ढल्केबरस्थित ४ सय केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

प्रकाशित मिति: २३ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्