हिम्मतवाला डिआईजी ज्ञवालीलाई ओली सरकारले बनायो आइजिपी, दाजुभाई पनि प्रहरी सेवामै


 


सेवा निवृत्त भएका आइजिपी सर्वेन्द्र खनाललाई विदाई गर्दै नवनियुक्त आइजिपी ठाकुर ज्ञवाली ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डिआइजी ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रमुखका रुपमा कार्यरत इमान्दार, सरल र हिम्मतवाला डिआइजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २७ औं महानिरीक्षक नियुक्त गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी तारिणी लम्साल र सूर्य उपाध्यायलाई उछिन्दै आइजिपीको जिम्मेवारी पाएका हुन् ।

ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआइजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । उनी २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ज्ञवालीको सेवा अवधि ५ महिनाको रहेको छ । आगामी असार २४ गते सेवाहदका कारण उनले अवकाश पाउने छन् ।

नियमावलीमा भएअनुसार प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा मन्त्रिपरिषदले ज्ञवालीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो ।

रोचक त के छ भने ज्ञवालीका दाजुभाई पनि प्रहरी सेवामा संलग्न छन् ।

ज्ञवालीको संक्षिप्त जीवनीः

बुबा नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीको माइलो सुपुत्रका रुपमा प्युठानमा जन्मिएका ज्ञवाली २९ वर्षको उमेरमा २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । चार भाइमध्येको माइलो छोरा ठाकुरका जेठो दाइ र भाइ पनि प्रहरी सेवामै छन् । एक भाइ विदेशमा छन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ज्ञवाली प्रहरी सेवामा प्रवेश गर्दाको पनि रोचक प्रसंग छ । उनले व्यक्तिगत चाहनाबाट प्रहरीमा प्रवेश गरेका होइनन् । एक जना मामाको छोराले प्रहरी निरीक्षकमा आवेदन खुलेको बेला आवेदन भरिदिएछन् । उनले लिखित परीक्षा दिँदासम्म घरपरिवारमा यो कुराको जानकारी थिएन ।

लामो समयसम्म प्रहरी निरीक्षकमा बसेर सेवा गरेका ज्ञवालीको १२ वर्ष त्यस पदमा रहेपछि बल्ल डीएसपीमा बढुवा भए । सिंगो ६ वर्ष उनले लागू औषधको एउटै बिटमा काम गरे । त्यसपछि उनी केरकार शाखामा गए । ज्ञवालीको ०६५ सालमा बुटवल सरुवा भयो । बुटवल गइसकेपछि त्यहीँबाट उनको प्रमोशन भयो । एसपीमा प्रमोशन भएर उनी दाङ गए ।

दाङमा झन्डै २० महिना बसेपछि उनी फेरि कर्मचारी प्रशासन हेडक्वाटर आए । त्यहाँबाट बारा पुगे । बारामा ११ महिना जति सेवा गरेपछि त्यहीँ सप्तरीको चुनाव सम्पन्न गराए ।

बाराबाट फर्केपछि उनलाई विदेश जाने अवसर मिल्यो । विदेशबाट फर्केपछि फेरि उनले सचिवालयमै बसेर काम गरे । त्यसपछि उनी एसपी भएर झापा गए । झापाबाट एसएसपी भएर फेरि सचिवालयमै फर्किए । सचिवालयबाट उनलाई नेपालगन्ज तालिम केन्द्र खटाइयो । त्यहाँ झन्डै डेढ वर्षजति बसिसकेपछि उनको सिआईबीमा सरुवा भयो । सिआईबीबाट ७ महिनापछि डिआईजीमा बढुवा भयो । डिआइजी भएपछि उनी अख्तियार पुगे । अख्तियारबाट उनी एक नम्बर प्रदेशको प्रमुख बने । उनको अधिकांश समय जिल्लातिरभन्दा हेडक्वाटरमा बित्यो ।

विदेश भ्रमणका सिलसिलामा ज्ञवाली युएनमा तीन ठाउँ ओसोबो, स्टिमोर र आइटिन पुगेका छन् । ज्ञवाली जापान र माल्दिभ्समा पनि पुगेका छन् । ज्ञवाली चाकडी चाप्लुसीभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीप्रति इमानदार छन् । ज्ञवाली जनसेवा श्रीपदबाट विभूषित भइसकेका छन् ।

उनी भन्छन्ः प्रहरीले जनताको र जनताले प्रहरीको मन जित्ने कुरामा विश्वासको संकट भएन भने उपस्थिति नै काफी रहन्छ तर विश्वासको संकट भयो भने सक्रिय उपस्थिति जरुरी हुन्छ ।

प्रकाशित मिति: २८ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्