राष्ट्रहित विपरीत सम्झौता नगर्न आग्रह


 


modi-prachanda

काठमाडौँ,  भदौ २६  विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा राष्ट्रको हितविपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै राष्ट्रको हितमा सन्धि सम्झौता गर्न आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल–भारतको सीमामा अझैपनि अन्योल रहेको भन्दै यसलाई मिलाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेता रावलले दूतमार्ग निर्माण भारतलाई दिन नहुने भन्दै पञ्चेश्वर आयोजनाको प्रतिवेदन बनाउँदा नेपालको हित सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको आन्तरिक मामलामा विदेशीको हस्तक्षेप राम्रो नहुने स्पष्ट पार्नुभयो ।

नेपाली काँग्रेसका नेता डा नारायण खड्काले नेपालका प्रधानमन्त्री भारत जाने क्रम निरन्तर भएकाले यसलाई ठूलो हल्ला गर्ने विषय बनाउनु उचित नभएको बताउनुभयो ।

उहाँले संविधान संशोधन नेपालको आन्तरिक मामला भएकाले भारत जानुपूर्व नै संशोधन प्रस्ताव गर्नुपर्छ भन्ने कुरा नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राम्रो लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले व्यवस्थापिका संसद्बाट चुनिएर प्रधानमन्त्री भएको व्यक्तिले राष्ट्रिय हितमा पक्कै सन्धि सम्झौता गर्ने बताउनुभयो ।

उहाँले भारतसँग हुने दुईपक्षीय छलफलमा राजनीतिक विश्वासको वातावरण बनाउन भ्रमण सद्भावपूर्ण हुने पनि बताउनुभयो । उहाँले विगतका आयोजना, परियोजनालाई निरन्तरता दिने प्रयास हुने उल्लेख गर्नुभयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जीतेन्द्र देवले नेपाल–भारतको सम्बन्धले नेपाललाई नै फाइदा हुने भएकाले यसलाई विगार्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सम्बन्ध भारत र चीनसँग जति राम्रो हुन्छ, त्यति नै नेपाललाई फाइदा हुन्छ ।”

सद्भावना पार्टी नेपालका अध्यक्ष अनिलकुमार झाले नाकाबन्दीका कारण नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई मजबुत बनाउन यो भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेता झाले दू्रतमार्ग जो सक्षम छ त्यही कम्पनीलाई दिनु उपयुक्त हुने पनि बताउनुभयो । रासस

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्