अठार सदस्यीय महिला क्रिकेट टोली घोषणा


 


womensteam-new-1

काठमाडौँ, भदौ २८ आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय टोलीमा सीता राना मगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहरा, सवनम राई, लक्ष्मी चौधरी, सङ्गीता राई र इन्दु बर्मा छन् ।

त्यस्तै, ज्योति पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर पनि टोलीमा अटाएका छन् । टोलीका मुख्य प्रशिक्षक राजु बस्नेत हुने बताइएको छ भने पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र विनोद दासले प्रशिक्षणमा सहयोग गर्नेछन् ।

यसअघि, पहिलो चरणमा ४८ जना खेलाडीलाई बन्द–सत्रमा राख्दै २४ मा झारिएको थियो । अब २४ बाट १८ मा झारिएको छ । केही समयपछि हुने अन्तिम घोषणामा १४ सदस्यीय टोली रहनेछ जसले प्रतियोगिता खेल्नेछ ।

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्