मेसीलाई जम्न नदिन यस्तोसम्म गर्थे ब्राजिली खेलाडी


 


रियो दे जेनेरियो, चैत ६ एजेन्सी

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई खेलमा जम्न नदिन ब्राजिलका खेलाडीले जानाजान पालैपालो फल हान्ने योजना बनाउने गरेको ब्राजिलियन मिडफिल्डर फिलिपे मेलोले खुलासा गरेका छन् ।

मेलोले रणनीतिक रुपमा मेस्सीलाई राम्रो प्रदर्शन गर्न नदिन र उनको लय बिगार्न ब्राजिलले जानाजान फल हान्ने रनानानिती अपनाएको बताएका हुन् । मेलोले सन् २००९ को फिफा कन्फेडेरेसन्स कप र सन् २०१० को फिफा विश्वकपका दौरान मेस्सीविरुद्ध खेलेका थिए । उनले ब्राजिलबाट २२ क्याप जितेका छन् । मेलोले युभेन्टस र इन्टर मिलानका लागि पनि क्लब फुटबल खेले ।

ब्राजिलियन मिडिया क्लारिनसँग अन्तर्वार्ताका क्रममा मेलोले मेस्सीलाई रोक्न यस्तो रणनीति अपनाएको बताए । ‘ मेस्सी फरक स्तरका खेलाडी हुन् । हामी ब्राजिलबाट खेल्दा उनलाई पालैपालो फल हान्ने रणनीति बनाएका थियौं । त्यसो नगर्दा उनलाई मार्क गर्न निकै कठिन थियो । हामीले उनलाई घाइते बनाउन भने त्यसो गरेको हैन, मात्र उनको लय निरन्तर नहोस् भन्ने हिसाबले फल गर्ने गर्थ्यौं । हाम्रो रणनीति नै थियो,’ उनले भने ।

मेलोले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएकोमा दुइमत नरहेको समेत बताए । ‘मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन्, रोनाल्डोभन्दा पनि उत्कृष्ट । रोनाल्डोले एकै खेलमा ५ गोल गर्ने क्षमता राख्छन् भने मेस्सीले ५ गोल गर्नुका साथै आफ्ना सहकर्मीलाई गोलको अवसर समेत सिर्जना गर्छन् । उनी एक पर्फेक्ट खेलाडी हुन्,’ मेलोले थपे ।

मिडफिल्डमा शारीरिक रुपमा अब्बल रहेका रक्षात्मक ३६ वर्षीय मिडफिल्डर मेलोले पछिल्लो पटक ब्राजिलियन लिगमा पाल्मेरासका लागि खेलेका थिए । सन् २०१० फिफा विश्वकपको क्वाटरफाइनलमा मेलोले नेदरल्यान्ड्सविरुद्ध आर्जेन रोबेनलाई फल हान्दै रेड कार्ड पाएका थिए । उनलाई त्यसै घटनाले विश्व फुटबलमा चर्चित बनाएको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्