अन्तत: त्रिभुवन विश्वविद्यालकाे वार्षिक परीक्षा स्थगित


 


काठमाडौँ, चैत ६
चीनको वुहानबाट सुरु भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस काेभिड–१९ काे चपेटामा १७३ देशमा परेको छ। कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ ।

साेही संक्रमणलाई मुलुकमा फैलिन नदिन नेपाल सरकारले आज चैत ६ गते बिहीबार बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई)लगायतका सबै परीक्षा रोक्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई बेवास्ता गरेको छ । त्रिविले सरकारको निर्णयविपरीत बिहीबारका सबै परीक्षा सञ्चालन गरेको छ ।

बिहीबारका सबै परीक्षा सञ्चालन गरेपनि शुक्रबारदेखि भने त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण वार्षिक परीक्षा स्थगित गरेकाे छ। परीक्षा नियन्त्रक कार्यालयका प्रमुख निरीक्षक पुष्पराज जोशीले चैत महिनाभित्र सन्चालन हुने सबै संकायका वार्षिक परीक्षा स्थगित भएको जानकारी दिए । उनले भने, ‘कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै वार्षिकरुपमा हुने परीक्षा रोकेका हौं ।’

सेमेस्टर प्रणाली अन्तर्गत हुने परीक्षाबारे भने आज निर्णय हुने जोशीले बताए । उनले भने, ‘सेमेस्टर प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा दिउँसो सबै विभागको छलफल हुँदैछ ।’ सेमेस्टर प्रणाली अन्तर्गत रहेका कतिपय संकायका परीक्षा सुचारु छन् भने बाँकी चैत महिनाभित्र हुने तय भएको थियो ।

यस्तै त्रिभुवन विश्वविद्यालयकै ईन्जिनियरिङ संकायका सम्पूर्ण परीक्षा पनि स्थगित भएका छन् । चैत ३ गतेबाट सन्चालन भइरहेको स्नातक तथा स्नात्तकोत्तर तहका सम्पूर्ण परीक्षा अर्को निर्णय नआउँदासम्मको लागि स्थगित गरिएको डिन कार्यालयले जानकारी दिएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम हुनसक्ने भन्दै बिहीबारबाट हुने तय गरेको एसईई परीक्षालाई हिजो साँझ स्थगित गरेको थियो भने सबै विश्वविद्यालय तथा शैक्षिक संस्थालाई चैत महिनाभरि बन्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्