सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारले लिए शपथ



काठमाडौँ, ३१ असार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनीलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

बुधबार शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा सहकुलपति समेत रहेका मन्त्री पोखरेलले दुवै पदाधिकारीलाई शपथ गराएका हुन्।

सोही दिन बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. जोशीलाई उपकुलपति र डा. चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिले पेश गरेको योग्यताक्रमका आधारमा नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले नियुक्ति प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न भएको बताए। नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यसै वर्षदेखि पठनपाठनसहित शैक्षिक र प्रशासनिक गतिविधि सुरु हुने विश्वास उनले व्यक्त गरे।

नवनियुक्त पदाधिकारी

प्रा. डा. सुनीलकुमार जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्य क्षेत्रका अनुभवी विज्ञ हुन्। उनले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विद्यावारिधि गरेका छन्। उनी यसअघि विश्वविद्यालयका संस्थापक कुलपतिका रूपमा समेत कार्यरत रहिसकेका छन्।

रजिस्ट्रार डा. भीमबहादुर चन्द स्वास्थ्य सेवा तथा प्रशासन क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्। उनले अस्पताल व्यवस्थापन विषयमा विद्यावारिधि हासिल गरेका छन्। उनी यसअघि विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य तथा नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा पनि काम गरिसकेका छन्।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्