कोरोनाका कारण रियल म्याड्रिडका पूर्वअध्यक्षको मृत्यु


 


काठमाडाैं, चैत्र ९
कोरोना संक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको भएको छ । कोरोनाको लक्षण देखिएपछि ५ दिनअघि भर्ना भएका ७६ वर्षीय लाेरेन्जकाे मृत्यु भएकाे हाे।

लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुुने थियो,’ उनले लेखेका छन्,‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’

रियल म्याड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । ‘रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ । रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ । सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो । उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।

कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १३ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्