वीरेन्द्रनगरका सबै वडालाई खाद्यान्न उपलब्ध गराइने


 


सुर्खेत,चैत १३

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ।

वीरेन्द्रनगर नगरकार्यपालिकाको शुक्रबार बसेको आकस्मिक बैठकले लकडाउनको अवधि १८ गतेपछि लम्बिएमा दिनभरि मजदुर गरेर दुई छाक जोहो गर्ने परिवारको पहिचान गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले राहत वितरणका लागि प्रति वडा रु पाँच लाखको खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण भएको बन्दाबन्दी (लकडाउन) को प्रभावलाई मध्यनजर गरी नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएको हो ।

दिनभरि काम गरेर दुई छाक जोहो गर्ने विपन्न परिवारको समस्यालाई मध्यनजर गरी बन्द नखुलेसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

त्यसैगरी बन्दको कारणले साँझ विहानको न्यूनतम खाद्य सामग्री खरीद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडावासीलाई घरबाटै खाद्य सामग्री खरीद गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाउने तयारीमा रहेको ढकालले बताइन् ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्