डि मारियाको खुलासाः जर्मनीविरुद्धको फाइनल नखेल्न मड्रिडको दबाब थियो


 


ब्युनर्स आयर्स, चैत १७ एजेन्सी

सन् २०१४ को विश्वकप फाइनलअघि अर्जेन्टिनी राष्ट्रिय टोलीका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो क्लब रियल म्याड्रिडले पठाएको पत्र नखोली च्यातिदिएको खुलासा गरेका छन् ।

ब्राजिलमा भएको सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना र जर्मनी फाइनल खेल्ने तय थियो । बेल्जियमविरुद्ध खेलमा चोट बोकेका कारण डी मारिया खेल्ने नखेल्ने शंका नै थियो । त्यसबेला उनको क्लब रियल म्याड्रिडले पत्र पठाएपनि डी मारियाले उक्त चिठी नखोली च्यातिदिएको खुलासा गरेका छन् । पोडेमोस हब्लारसँग अन्तर्वार्ताका क्रममा डी मारियाले त्यसबेलाको स्थितिबारे खुलासा गरेका हुन् ।

‘म बेल्जियमविरुद्ध खेलमा घाइते भएको थिएँ । मेरो खुट्टा पूरै ठिक अवस्थामा थिएन तर म फाइनल खेल्न चाहन्थें,’ उनले भने, ‘मलाई मतलब थिएन कि उक्त चोटले म फेरी फुटबल खेल्न नसक्ने अवस्था नै किन नआओस, म फाइनल खेल्न चाहन्थें । त्यो मेरो फाइनल थियो ।’

‘ मलाई थाहा थियो रियलले मलाई बेच्न चाहेको छ । लामो समयदेखि नै हामेस रोड्रीग्वेज रियल जाने चर्चा थियो । उनले मेरो स्थान लिन्छन् भन्नेमा ढुक्क थिएँ । जब फाइनलअघि रियलको पत्र पाएँ, मैले बुझिसकेको थिएँ त्यहाँ के थियो,’ उनले भने, ‘ मैले त्यसलाई नखोली च्यातिदिएँ । मलाई पढ्न त के हेर्न पनि मन थिएन । मैले खेल्ने वा नखेल्ने निर्णय गर्ने म स्वयं थिएँ ।’

फाइनलअघि डी मारियाले प्रशिक्षक आलेहान्द्रो साबेलासँग आफ्नो निर्णय सुनाउँदा भावुक भएको स्वीकारे । ‘ जब मैले आफू शत प्रतिशत फिट छैन भन्ने जानकारी दिएँ, म रोइरहेको थिएँ । उनले मलाई माया गर्थे र खेल्न सुझाएका थिए । तर मैले उत्कृष्ट खेलाडी छनोट गर्न भने । मैले आफ्नो भन्दा टोलीको लागि सोच्नुपर्थ्यो ।’

‘ खेलका लागि म तयार हुन सक्छु वा सक्दिन भन्ने प्रयास गर्न ठिक थिएन । तैपनि मैले प्रशिक्षकले अवसर दिए खेल्ने बताएको थिएँ । प्रशिक्षणमा एन्जो पेरेजले मेरो स्थानमा खेले र उनले नै फाइनल खेले । बाँकी पछि के भयो, त्यो त इतिहास साक्षी छ,’ डी मारियाले टुंग्याए ।

उक्त फाइनलमा जर्मनीका मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि अर्जेन्टिना पराजित भएको थियो । डी मारियाले उक्त खेलमा मैदान प्रवेश गरेनन् । पछि स्पेन फर्केपछि रियलले उनलाई मोटो रकममा म्यानचेस्टर युनाइटेडमा बेचेको थियो ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्