खेलाडी छनोट एक वर्ष पछिसम्म, नेपालले नयाँ छनोट नगर्ने


 


टोकियो, चैत्र २३
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि सारेसँगै ओलम्पिक खेलाडी छनोटको अवधि पनि एक वर्षसम्म गर्न सक्ने जनाएको छ। आईओसीले कोरोना भाइरसका कारण ओलम्पिक सरेपछि छनोट खेल पनि सन् २०२१ को जुन महिनासम्म सारेको हो।

आईओसीले प्रत्येक देशका ओलम्पिक कमिटीलाई पत्राचार गर्दै खेलाडी छनोट २०२१ को जुन २९ तारिखसम्म सक्न निर्देशनसमेत दिएको छ। कोरोना भाइरसको संक्रमणका कारण ओलम्पिक छनोट खेलहरू पनि प्रभावित बन्दै आएका थिए। टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ। कोरोनाका कारण टोकियो ओलम्पिकसँगै पारा ओलम्पिक पनि एक वर्ष पछि सरेको छ। पारा ओलम्पिक सन् २०२१ कै अगस्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ।

यसअघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म गरिने तय भएको थियो। आयोजक जापानले ओलम्पिक समयमै आयोजना गर्न तत्परता पनि देखाएको थियो। तर विभिन्न देशले कोरोना भाइरसको संक्रमणमा ओलम्पिक खेल्न नसक्ने भन्दै बहिष्कार गरेपछि आईओसी ओलम्पिक एक वर्ष पछि सार्न बाध्य भएको थियो।

यसैगरी जापानले टोकियो ओलम्पिक एक वर्ष पछि सरेका कारण ओलम्पिक गेम्सका लागि बनाइएको ओलम्पिक भिलेजलाई तत्काल अस्पताल बनाउने भएको छ। जापानले ओलम्पिक भिलेजलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि अस्पतालमा परिणत गर्न लागेको हो।

टोकियोकी गभर्नर युरीको कोइकीले ओलम्पिक भिलेजमा रहेका २४ वटा भवनलाई तत्कालका लागि अस्थायी अस्पतालमा परिणत गर्न लागेको बताएकी छन्। ११ हजार खेलाडी र अफिसियल बसोबासका लागि तयार पारिएको भिलेजको कतिपय निर्माण कार्य अझै जारी छ।

नेपालले नयाँ छनोट नगर्ने

टोकियो ओलम्पिकमा नेपालले यसअघि सिफारिस गरेको खेलाडीलाई नै पठाउने भएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसअघि सर्टलिस्टमा परेका र वाइल्ड कार्डका लागि नाम पठाइएका खेलाडीलाई नै ओलम्पिकमा पठाउने जनाएको छ।

एनओसीले टोकियो ओलम्पिकमा वाइल्ड कार्डका लागि सात खेलका १२ जना खेलाडीको नाम सिफारिस गरेको थियो। ओलम्पिकमा नेपालबाट पौडीमा महिलातर्फ गौरिका सिंह र पुरुषमा एलेक्स शाह तथा एकजना एथलेटिक्स खेलाडीको सहभागिता पक्का भइसकेको छ। एथलेटिक्स खेलाडी भने तय हुन बाँकी छ। नेपालले एथलेटिक्समा म्याराथनतर्फ भाग लिने तयारी गरे पनि एनओसीले खेलाडीको टुंगो लगाइसकेको छैन।

वाइल्ड कार्डका लागि सिफारिस गरिएका अन्य खेलाडीहरूमा कराँतेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सञ्जु चौधरी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङका मीनु गुरुङ रहेका छन्।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्