देशभर ४१ लाख चल्ला र अन्डा नष्ट, कतिपयले सित्तैमा बाँडे कुखुरा


 



चितवन, चैत २७
चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हालेर नष्ट गरेका छन् । ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार नेपालभरिबाट ३५ लाख ब्रोइलर, २ लाख लेयर्स, ४ लाख कलर ब्रोइलर गरी ४१ लाख अन्डा र चल्ला नष्ट गरिएको छ । नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २१ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको पोखरेलले बताए ।

दाना खान नपाएर कुखुरा मर्ने अवस्था भएपछि भरतपुर–१३ गंगानगरका लेयर्स कुखुरापालक किसानहरूले सित्तैमा स्थानीयलाई वितरण गर्न थालेका छन् । अन्डा बेचेर नाफा लिने वेला दाना अभाव भएपछि कुखुरा मर्न दिनुभन्दा सित्तैमा वितरण गर्न उचित ठानेको स्थानीय कुखुरापालक लक्ष्मी अधिकारी, रामचन्द्र ओझा र केशव रानाभाटले बताए । 

‘कुखुरा मर्न लाग्दासमेत दाना सप्लायर्स र उद्योगीहरूले दाना दिएनन् । त्यसपछि सित्तैमा वितरण गर्‍यौँ,’ ओझाले भने । त्यस क्षेत्रका ८ जना किसानहरूले करिब १० हजार कुखुरा त्यसरी नै खोरबाट हटाइसकेका छन् । लेयर्स कुखुराले ६ महिनापछि अन्डा दिन सुरु गर्छ । करिब १८ देखि २० महिनासम्म ती कुखुराहरूले अन्डा दिन्छन् ।

सप्लायर्सहरूले आफैंलाई अन्डा र कुखुरा बिक्री गनुपर्ने, नियमित रूपमा दाना, चल्ला आफूले व्यवस्थापन गरिदिने मौखिक सहमति पनि हुन्छन् । तर,  लकडाउनको कारण देखाउँदै दाना सप्लायर्सहरूले नगद नदिएसम्म किसानलाई दाना नदिने भने बेइमानी गरेका छन् । 

१२ सय लेयर्स कुखुरा पालेकी किसान लक्ष्मी अधिकारी भन्छिन्, ‘कानको सुनको मुन्द्री लैजानुस्, अहिले नगद छैन भन्दा पनि सप्लायर्सले दाना ल्याएन । झन्डै ४ सय कुखुरा भोकले खुट्टा टेक्न नसक्ने भएपछि मरे । ५ लाखभन्दा बढी कुखुरापालन सुरु गर्दाको नै ऋण छ ।’ 

भरतपुर–१३ गंगानगरकै किसान चित्रबहादुर रानाभाटले ११ सय कुखुरालाई भकारीको धान पिनेर दानाका रूपमा खुवाइरहेका छन् । ६ वर्षदेखि कुखुरा पाल्दै आएका उनलाई यो संकट कसरी कटाउने भन्ने मात्र चिन्ता छ । गंगानगर क्षेत्रमा मात्र ३० भन्दा बढी कुखुरापालक किसान छन् । ५ सयदेखि ५ हजारसम्म उनीहरूका खोरमा कुखुरा छन् ।

लकडाउन केही समय अझै लम्बिए व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था रहेको अर्का किसान विष्णु लामिछाने बताउँछन् । उनका अनुसार त्यस क्षेत्रका ८ किसानका १० हजारभन्दा बढी कुखुरा नाफा लिने समयमा खोरबाट हटाइएको छ । नयाँ पत्रिका

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्