तीन पटक सच्याउँदा पनि राहतको सूचीमा सम्पन्न परिवार


 


टीकापुर, बैशाख १
टीकापुर नगरपालिकाको केही वडामा राहत वितरणका लागि संकलन गरिएको सूचीमा सम्पन्न घरपरिवारलाई समेटेको पाइएको छ।वडा नं. १ मा गठन भएको आपूर्ति व्यवस्थापन समितिले संकलन गरेको विपन्न परिवारको सूचीमा सम्पन्न परिवार समेत समेटिएका छन्।

ती मध्ये कतिपय वैदेशिक रोजगारका क्रममा रहेका, कर्मचारी र ब्यापारीका परिवार समेत रहेको पाइएको छ। वडा कार्यालयले नगरपालिकालाई उपलब्ध गराएको सूची अनुसार वैदेशिक रोजगारीका क्रममा कोरिया, जापान, युएई, भारत लगायतका देशमा रहेका व्यक्तिका परिवार समेत समेटिएका छन्। त्यस्तै ब्यापार व्यवशाय गर्दै आएका र कर्मचारीका परिवार समेत सूचीमा समावेश छन्।

वडा कार्यालयले वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा २६ सदस्यीय समिति गठन गरेको छ। सो समितिका पदाधिकारीहरुले विभिन्न घरपरिवारको नाम संकलन गरेका हुन्।

समितिले सुरुमा ९ हजार ३०० घरपरिवारको नाम संकलन गरेको थियो। राहत पाउने सूचीमा सम्पन्न व्यक्तिको नाम रहेको भन्दै विरोध भएपछि सो संख्या ६ हजार ५०० मा झारिएको थियो। नगरपालिकाले स्थानीय स्तरबाट तिब्र विरोध भएपछि समितिलाई राहत पाउने घरपरिवारको सूची पुनः सच्याउन दवाव दिएको थियो। समितिले दोस्रो पटक सूची सच्याएर ४ हजार १२३ जनाको नाम नगरपालिकामा बुझाएको छ।

समितिले बुझाएको पछिल्लो सूचीमा समेत धेरै जसो व्यक्तिहरु सम्पन्न रहेको आरोप लाग्ने गरेको छ। राहत वितरणका लागि संकलन गरिएको सूचीमा सम्पन्न व्यक्तिको समेत नाम समेटिएको कुरा वडाध्यक्ष आचार्यले स्विकारेका छन। उनले पछिल्लो सूचीका बारेमा समेत अध्ययन भैरहेको जानकारी दिए।
‘नाम संकलन कार्यमा तलमाथि भएको छ’ उनले भने–‘वास्तविक परिवारलाई मात्रै राहत वितरण गरिनेछ।’

वडाले राहत वितरणका लागि संकलन भएको सूचीको चौतर्फी विरोध भएपछि सबै राजनीतिक दल लगायतलाई समेटेर नेकपाका स्थानीय नेता भीमराम चपाँईको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिले समेत सूचीबाट सम्पन्न परिवारको नाम हटाउन सल्लाह दिनुको साँटो आफू अनुकुलका व्यक्तिको नाम थप्न दवाव दिने गरेको स्रोतको भनाई छ।

नगरपालिकाले वडाबाट प्राप्त सूचीमा विमती जनाउदै राहत वितरण कार्य रोकेको छ। उसले यस्तै समस्या वडा नं. २ र ५ मा समेत देखिएको जानकारी दिएको छ। ती वडामा समेत राहत वितरण रोकिएको छ। वडा नं. २ मा ५२९ र वडा नं. ५ मा ३५० घरपरिवारको सूची संकलन भएको छ।

‘विपन्न परिवारको नाम संकलन गर्ने काममा कमि कमजोरी भएको देखिन्छ’ मेयर तपेन्द्रबहादुर रावलले भने–‘वडाले दिएको सूची हेर्दा सबै वास्तविक हुन भन्ने लाग्दैन।’

उनले सम्पन्नले राहत पाउने तर विपन्नले नपाउने कुरामा आफू निकै सचेत रहेको बताउँदै वडाबाट प्राप्त सूचीलाई अध्ययन गरेर मात्रै राहत वितरण गर्ने जानकारी दिए।

नगरपालिकाले निकै समस्या भोगिरहेका विपन्न परिवारलाई नगर प्रहरी मार्फत राहत घरमै पुर्याउने व्यवस्था गरेको छ। मेयरका स्वकिय सचिव निर्मला चौधरीले यसरी वडा नं. १ का १०६ घरपरिवारलाई राहत प्रदान गरिएको बताइन्।

नगरपालिकाले अन्य ६ वटा वडामा भने राहत वितरण कार्यलाई निरन्तरता दिइरहेको छ। स्वकिय सचिव चौधरीले हालसम्म ७७३ घरपरिवारलाई राहत वितरण गरिसकेको जानकारी दिइन्। नागरिक दैनिकबाट

प्रकाशित मिति: १ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्