६ दिन ढिलो मनसुन भित्रियो, एलनिनोको प्रभावले वर्षा पनि कम हुने अनुमान
काठमाडौँ, ५ असार । नेपालमा यस वर्षको मनसुन शुक्रबार साँझ प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन सामान्यतया जुन १३ मा भित्रिने भए पनि यस वर्ष ६ दिन ढिलो गरी प्रवेश गरेको हो।
विभागका मौसमविद् अशोक बर्खेलले विभागले जुन २० आसपास मनसुन प्रवेश गर्ने प्रक्षेपण गरेको र सोहीअनुसार मनसुन भित्रिएको बताए। उनका अनुसार प्रशान्त महासागरमा विकसित भएको एलनिनो प्रभावका कारण यस वर्ष मनसुन आगमन ढिलो भएको हो।
एलनिनोका कारण प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने र पूर्वबाट बहने हावा कमजोर हुने भएकाले मनसुन प्रणाली प्रभावित हुने बर्खेलले बताए। उनले एलनिनो हरेक वर्ष नदेखिने र सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा विकसित हुने जानकारी दिए।
मौसमविद् डेबिड ढकालले एलनिनो प्रशान्त महासागरमा विकसित हुने जलवायु प्रणाली भएको र यसले विश्वव्यापी मौसममा प्रभाव पार्ने बताए। विश्व मौसम सङ्गठनले समेत यस वर्ष एलनिनोको प्रभाव रहने पूर्वानुमान गरिसकेको उनले उल्लेख गरे।
विभागका अनुसार यस वर्ष मनसुन अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी क्षेत्र तथा कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६६ प्रतिशत रहेको छ।
यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र, कर्णालीका उत्तरपश्चिमी भूभाग, गण्डकीका पूर्वी क्षेत्र, बागमतीका दक्षिणी भूभाग, मधेसका पश्चिमी क्षेत्र तथा कोशीका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।
बर्खेलका अनुसार नेपालमा मनसुन अवधिमा सामान्यतया एक हजार ३८२ मिलिमिटर वर्षा हुने गर्छ। तर यस वर्ष औसतको ९० प्रतिशतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विगतमा पनि एलनिनो प्रभावका कारण मनसुन ढिलो प्रवेश भएका उदाहरण छन्। विभागका तथ्याङ्कअनुसार सन् १९८२ मा जुन २७, १९९२ मा जुन २१, २००९ मा जुन २३ र २०१९ मा जुन २० मा मनसुन भित्रिएको थियो।
मौसमविद्हरूका अनुसार मौसम पूर्वानुमान सम्भावनामा आधारित हुने भएकाले सबै अवस्थामा शतप्रतिशत मिल्न नसक्ने भए पनि विभागले नियमित रूपमा अवस्था विश्लेषण गरी १२–१२ घण्टामा अद्यावधिक पूर्वानुमान सार्वजनिक गर्दै आएको छ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












