सरकारी कदमबारे डा. पुनले भने ‘जनचेतना जगाउनु गल्ती हो ?’


 


काठमाडौं, बैशाख ६

कोरोना भाइरसबारे सञ्चारमाध्यममा निरन्तर जानकारी गराइरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिचर्स युनिटका संयोजक डाक्टर शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ।

कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएको हो।

डाक्टर पुनले पनि आफूलाई स्पष्टीकरण माग गरेर पत्र पठाएको सुनेको बताएका छन्।

डाक्टर पुनले शनिबार दिउँसो भने, ‘मन्त्रालयबाट आएको होला तर मैले पाएको छैन।’

उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी ‘टेक्निकल प्राविधिक कुरा मात्र मिडियामा गरेको बताए।

‘मन्त्रालयले गर्नुपर्ने काम मैले गरिदिएको छु, कोरोना भाइरसका बारेमा स्पष्ट पार्ने काम मात्र गर्दा किन स्पष्टीकरण सोधियो मैले बुझेको छैन,’ उनले भने।

पछिल्लो दिन र्‍यापिड डाइग्नस्टिक टेस्ट र पीसीआर टेस्टका विषयमा मात्र आफूले बोलेको डाक्टर पुनको भनाइ छ।

‘मलाई के के आरोप लगाइयो, पत्र प्राप्त भइनसकेकाले भन्न सक्तिनँ, तर यस्तो बेला किन यसरी प्रतिशोध साँधियो मैले बुझेको छैन।’

आफू सुरुवाती दिनदेखि रातभरि कोरोना संक्रमितको उपचारमा रहेको उनी बताउँछन्। कोरोनाबाट मानिस आत्तिने खतरा देखेर जनचेतना जगाउनु कसरी गलत भयो होला उनको प्रश्न छ ।

प्रकाशित मिति: ६ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्