बीपी प्रतिष्ठान परिसरका ३५ औषधि पसल सिलबन्दी



धरान, ४ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान परिसरमा सञ्चालित ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ।

इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा विभिन्न कानुनी कमजोरी फेला परेपछि पसलहरू सिलबन्दी गरिएको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका, व्यवसाय नवीकरण नगरेका तथा अनुगमनमा असहयोग गर्ने औषधि पसलमाथि कारबाही गरिएको हो।

सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजात अध्ययनपछि प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि प्रशासनले औषधि पसलहरूको अनुगमनलाई तीव्र बनाएको थियो। प्रशासनले कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आगामी दिनमा पनि अनुगमन जारी रहने जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्