संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदै


 


काठमाडाैँ,बैशाख २६
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् ।

कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि संघीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरू गरिएको छ ।

राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिने छ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन ।

अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्रा।डा। विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै २ अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

संघीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले अधिवेशन सुरूवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनले भने, ‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हरसम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’

चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार १५ जेठ बजेट प्रस्तुत हुनेछ ।

संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ । गाेरखा पत्रबाट

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्