सेयर बजार मङ्गलबारदेखि खुल्ने, गरियो नयाँ व्यवस्था


 



काठमाडौं, वैशाख २७
आगामी मङ्गलबारदेखि सेयर बजारको कारोबार खुल्ने भएको छ । चैत १० गतेदेखि बन्द भएको सेयर बजार डेढ महिनापछि खुल्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिएका छन् ।

बजार खुलाउनका लागि आइतबार र सोमबार आवश्यक तयारी गरेर मङ्गलबारदेखि दैनिक ११ः०० देखि १ः०० बजेसम्म सेयर कारोबार हुने गरी बजार खोल्ने तयारी भएको धितोपत्र बोर्डले जनाएको छ ।

दैनिक दुई घण्टाको कारोबार गर्दा सुरुको कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले निर्णय गरेको छ ।

त्यस्तै धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा पनि आईपीएस या विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहन गरिने बोर्डले जनाएको छ । यो व्यवस्थालाई आगामी साउनदेखि भने अनिवार्य नै गरिने पनि निर्णय भएको प्रवक्ता निरन्जन गिरीले बताए ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्