कहाँबाट आएका थिए लुम्बनीका नयाँ काेराेना संक्रमित?



बुटवल, बैशाख ३०
मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ । उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।

संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं. ७ का २ जना, वडा नंं. ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् । दशगजा क्षेत्रबाट उनीहरू सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको नगर प्रमुख मनमोहन चौधरीले बताए ।

वडा नंं. ४ का एकजना क्वारेन्टाइनमा नगई घर बसेका थिए । भोलिपल्ट मात्रै उनलाई क्वारेन्टाइनमा ल्याइएको थियो । अन्यको कन्ट्याक्ट ट्रेसिङ पत्ता लगाउने प्रक्रिया सुरु भइसकेको छ ।

नगरपालिकाका क्वारेन्टाइनमा रहेका एक सय २८ जनामध्ये ६२ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको नगर प्रमुख चौधरीले बताए ।

यसअघि सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नंं. १ र ४ का एक–एकजनामा कोरोना संक्रमण देखिएको थियो । दुवै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा थिए। यस्तै कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय युवक र सम्मरीमाई गाउँपालिकाका चार जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार थपिएका संक्रमितसँँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News