श्रमिकको तलब : आधा अहिले र आधा पछि ?


 


काठमाडाैं । बन्दाबन्दीको समयमा चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने सरकारले निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ ।

उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा श्रमिकलाई तलब दिन नसकिने बताउँदै आएका छन् । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले देशमा लकडाउन सुरु (चैत ११ गते) देखि नै अत्यावश्यकबाहेकका अन्य उद्योग बन्द भएको हुँदा बन्द रहेका उद्योगमा काम गर्नेलाई चैत महिनाको पूरै र वैशाख महिनाको अहिले ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “रोजगारदाताले श्रमिकलाई वैशाख महिनाको तलब अहिले आधा मात्रै दिए पनि उद्योग खुलेपछि भने बाँकी ५० प्रतिशत दिनुपर्ने हुन्छ ।”

उद्योगी र श्रमिकका नेता पनि यस विषयमा सकारात्मक भएकाले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय निकाल्न पहल भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए । सरकारले चैत महिनाको पूरै तलब दिन भनेर उद्योगलाई निर्देशन दिए पनि श्रमिकले चैत महिनाको ३० प्रतिशत मात्रै तलब पाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्