थ्रीस्टार दोस्रो चरणमा


 


three-star-club-250x150

काठमाडौँ,  असोज ८ बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ ।

भारतको गुवाहाटीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको हो ।

थ्रीस्टारका लागि प्रतिस्थापन खेलाडी विजय गुरुङले खेलको अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उनले खेल सकिनै लाग्दा अर्थात ९० आँै मिनेटमा सुनिलले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै जाली चुमाएका हुन् ।

प्रतिस्पर्धात्मक खेलको ४२ आंँै मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै डिफेन्डर विजय धिमाल मैदान बाहिरिएपछि थ्रीस्टारले बाँकी खेल १० खेलाडीमा सीमित भएर खेलेको थियो । यसअघि २६ आँैं मिनेटमा विजयले पहेँलो कार्ड खाएका थिए ।

दोस्रो हाफमा विमल घर्ती मगरको स्थानमा मैदान छिरेका विजयले थ्रीस्टारका लागि गोल गर्न सफल भए र टोलीलाई हारबाट जोगाए । खेलमा अग्रता भने आयल इन्डियाले सुरुमै सातौँ मिनेटमा नै नवीन राभाको गोलबाट लिएको थियो ।

बराबरीपछि थ्रीस्टार दुई खेलबाट चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा स्पष्ट जित निकाल्न सफल भएको थ्रीस्टारले तीन अङ्क जोडेको थियो भने यो बराबरीले चार अङ्क भएको हो ।

त्यस्तै समान अङ्क भए पनि सिलोङ लाजोङ गोल अन्तरका आधारमा समूह ‘ए’को शीर्षस्थानमा छ । आइतबार हुने थ्रीस्टार र सिलोङ लाजोङबीचको अन्तिम खेलले समूह विजेता टोली टुङ्गो लगाउने छ । आयल इन्डिया २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्