सुदुरपश्चिममा सांसदलाई तीन करोड


 


कञ्चनपुर, असार १
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७–७८ का लागि ३३ अर्बको बजेट ल्याएको छ ।

प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिए ।
यो बजेटमा पनि सुदूरपश्चिम प्रदेशका सांसदले ३ करोड खर्च गर्न पाउने भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरिएको छ।

बजेटमा स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । त्यसमा पनि स्वास्थ्य क्षेत्रको सुधार, कोरोनाका कारण रोजगारी गुमाएकाहरूलाई स्वरोजगारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।

सरकारले आगामी वर्ष कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै ‘रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ’ अभियान, ‘कामका लागि खाद्यान्न’ सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: १ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्