गणित विषयका प्राध्यापकका लागि वैज्ञानिक लेखनबारे कार्यशाला


 


धनगढी, असार ९
नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका गणित विषयका प्राध्यापकहरूका लागि वैज्ञानिक लेखन सम्बन्धी एक हप्ते अन्तरक्रियात्मक कार्यशाला सम्पन्न गरेको छ ।

इन्टरनेट प्रविधिको प्रयोगमार्फत अषाढ ४ गतेदेखि सुरु भएको कार्यशाला मंगलबार सकिएको हो । कार्यशालामा प्रमुख सहजकर्ताको भूमिका डा। दिर्घराज जोशीले गर्नुभएको थियो भने डा। उमेश न्योपानेले सहजिकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यशालामा अनुसन्धानात्मक लेखहरू र अनुसन्धन्नात्मक प्रतिबेदन कसरी लेखने र त्यसलाई कसरी बिभिन्न तरिकाले ‘साइटेसन’ गर्ने भन्नेबारे छलफल गरिएको थियो ।

त्यस्तै, गणितीय ज्ञानलाई विद्यार्थीसामु कसरी सहज र सरल तरिकाले पुर्याउने भन्नेबारे छलफल भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल गणित समाजका केन्द्रीय अध्यक्ष तथा त्रिभुवन विश्व विद्यालय केन्द्रीय गणित बिभाग एमफिल कार्यक्रमका प्रमुख प्रा. डा चेतराज भट्ट हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै उहाँले यस प्रदेशको शिक्षाको बिकासमा आफुले आवश्यक सहयोग गर्ने र प्रदेशका बिभिन्न क्याम्पसका प्राध्यापकलाई अनुसंधानात्मक कार्यमा नेपाल गणित समाजका तर्फबाट पनि सहयोग हुने बताउनुभयो । उहाँले भविश्यमा पनि यसले गणितका शिक्षक तथा अनुसन्धानकर्ताका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश सभापति तथा एस्वर्य बहुमुखी क्याम्पसका विज्ञान बिभाग प्रमुख गणितका सह–प्राध्यापक रघुबिर भट्टले गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै उहाँले प्रदेशमा गणित बिकासमा सबै मिलेर योगदान दिने बताउनुभयो । गणित बिज्ञान तथा प्रबिधिको मेरूदंड भएकाले बैज्ञानिक अनुसंन्धानमा यसको उच्च स्थान रहेको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा सहजकर्ता डा. जोशी तथा डा. न्योपानेले शिक्षा क्षेत्रमा आफुले सहयोग गर्ने बताउनुभयो । उच्च शिक्षामा अनुसन्धान आवश्यक भएकाले यसमा सम्पूर्ण शिक्षकहरूले सहजै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रम नेपाल गणित समाजका कोषाध्यक्ष तथा धनगढी इन्जीनियर कलेजका सहायक क्याम्पस प्रमुख प्रेम चन्दले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्