सार्वजनिक यातायात खोल्न ठोस निर्णय नै भएन


 


काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् ।

सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले छलफलमा व्यवसायीका समस्यामा मन्त्री, सचिव र विभागका महानिर्देशसँग राखेको बताए ।

‘हामीले सहजीकरणका लागि सरकारले के गर्न सक्छ भनेर हाम्रा कुरा स्पष्टसँग भनेका छौं । मन्त्रीज्यूले पनि सकारात्मक तरिकाले लिनुभएको छ । निरन्तर छलफल गर्दै जाने कुरो भएको छ तर यातायात कहिले खुल्छ भन्न सकिन्न,’ उनले राजधानीसँग भने ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ, मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सहभागी छलफलमा व्यवसायीले जहाज चलाउँदा पाइलटलाई कोरोना लाग्छ भने बस चलाउँदा पनि चालक परिचालकलाई कोरोना लाग्ने भएकाले यस्ता विषयमा सरकारले सहजीकरण गर्नुपर्ने माग राखेका थिए । महासचिव सिटौलाले ५० प्रतिशत जनशक्ति अहिले काठमाडौं उपत्यकाबाहिर रहेकाले उनीहरुलाई ल्याउन र बिग्रिएका गाडीहरु सञ्चालनमा ल्याउन पनि सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नेम्वाङका प्रेस संयोजक सन्दीप राईले सार्वजनिक यातायात कसरी खुलाउन सकिन्छ र त्यसमा सरकारले के सहजीकरण गर्न सक्छ भनेर व्यवसायीलाई बोलाएर छलफल गरेको जानकारी दिए । सरकारका प्रवक्ता डा युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार आकस्मिक रूपमा बसेको केन्द्रीय कमिटी बैठकले सरकारले सार्वजनिक यातायात खुलाउने वातावरण नबनाएको भन्दै सवारी नचलाउने निर्णय गरेको थियोे । आजको राजधानी दैनिकबाट

प्रकाशित मिति: २९ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्