साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने : पर्यटन मन्त्रालय



काठमाडौं, साउन २
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्न सकिने जनाएको छ । चैत ९ देखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको सरकारले वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते अध्ययन समिति गठन गरेको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन भएको चार सदस्यीय समितिले बिहीबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाएको प्रतिवेदनले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्न सकिने सुझाव दिएको छ । स्रोतका अनुसार सहसचिव लामिछानेले सचिव केदारबहादुर अधिकारी हुँदै मन्त्री भट्टराईलाई बुझाएको प्रतिवेदनलाई सदर गरिएको छ ।

समितिको प्रतिवेदन शुक्रबार छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्‍चालन केन्द्र हुँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा जानेछ । उक्त समितिको सिफारिसका आधारमा सरकारले साढे तीन महिनादेखि बन्द गरेको व्यवसायिक उडान सुचारु गर्न अनुमति दिनुपर्ने छ ।

सहसचिव लामिछाने नेतृत्वको अध्ययन समितिले कोभिड–१९ को माहामारी कायमै र बढ्दै गइरहेको अवस्थामा कसरी वायुसेवालाई अनुमति दिनेबारे कार्ययोजना पनि पेश गरेको छ । उच्च स्रोतका अनुसार समितिले आन्तरिक उडानमा रहेका वायुसेवालाई सुरुमा दिनमा एउटा उडान मात्रै गर्न दिइनुपर्ने उल्लेख गरेका छन् भने अन्तर्राष्ट्रिय वायुसेवालाई सातामा एउटामात्रै उडान गर्न दिइनुपर्ने प्रस्ताव गरेका छन् । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ वटा आन्तरिक उडान गर्ने वायुसेवा कम्पनी छन् भने अन्तर्राष्ट्रियतर्फ ३० वटा वायुसेवा छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News