चेकजाँचका क्रममा प्रहरीलाई आर्थिक प्रलोभन ! एक जना पक्राउ


 



काठमाडौं, साउन १५
मकवानपुरमा प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्व्यवहार गर्ने चालक पक्राउ परेका छन् ।

जिल्लाको भिमफेदी गाउँपालिकावडा नम्बर २ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका–१० घर भएका राम गणेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ८९७१ नम्बरको मारूती भ्यानलाई जाँच गर्ने क्रममा उनले प्रहरीलाई आर्थिक प्रलोभन देखाएका थिए ।

भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी संख्यामा मानिसहरू चढाएकोमा त्यस्तो नगर्न सम्झाउन खोज्दा उल्टै ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेपछि भ्यान चालक साहलाई पक्राउ गरेको हो ।

साह उपर सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्