एफएनसीसीआई चुनाव : प्यानलसहित बरिष्ठ उपाध्यमा ढकालको उम्मेदवारी दर्ता


 



काठमाडौं, कात्तिक १८
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् । वस्तुगत उपाध्यक्षमा श्रेष्ठ दोस्रो कार्यकालका लागि दोहोरिन चाहेका हुन् ।

यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

ढकालले गएको फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए भने असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामुहिकरुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताएका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्