मधेश प्रदेशले ११ महिनामा ३० अर्बभन्दा बढी राजस्व सङ्कलन
जनकपुरधाम, ६ असार । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार जेठ मसान्तसम्म कुल ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो।
मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले समीक्षा अवधिमा प्रदेशको आन्तरिक राजस्व सङ्कलन ४ अर्ब ५९ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको बताए।
उनका अनुसार घरजग्गा रजिस्ट्रेसन शुल्कबाट १ अर्ब १८ करोड १२ लाख ९५ हजार रुपैयाँ तथा सवारीसाधन करबाट २ अर्ब १ करोड ५० लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
अर्थ मन्त्रालयले आर्थिक क्षेत्रमा देखिएको तरलता अभाव, घरजग्गा कारोबारमा आएको सुस्तता, नयाँ सवारीसाधनको खरिद–बिक्रीमा कमी तथा गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको जनाएको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












