स्पेनका प्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार मुद्दामा देश छोड्न प्रतिबन्ध
म्याड्रिड, ६ असार । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेज की श्रीमती बेगोना गोमेज लाई भ्रष्टाचारसम्बन्धी मुद्दामा कानुनी सुनुवाइका लागि उपस्थित हुन आदेश दिएको छ। अदालतले उनलाई देश छोड्नसमेत प्रतिबन्ध लगाएको छ।
शनिबार जारी आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडो ले गोमेजलाई आफ्नो पासपोर्ट बुझाउन र मुद्दाको अन्तिम फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका छन्।
अदालतले गोमेजमाथि लगाइएको देश छोड्न नपाउने प्रतिबन्ध कार्यान्वयन गर्न सबै सीमा नाका तथा नागरिक र सैन्य विमानस्थललाई आवश्यक निर्देशन जारी गरिने जनाएको छ। यद्यपि, मुद्दाको सुनुवाइ मिति भने अझै तय गरिएको छैन।
न्यायाधीश पेइनाडोले गत अप्रिलमा गोमेजविरुद्ध भ्रष्टाचार, ठूला आर्थिक कारोबारमा अनियमितता, व्यापारिक सम्बन्धमा भ्रष्टाचार तथा सार्वजनिक कोषको दुरुपयोगसम्बन्धी औपचारिक आरोप लगाएका थिए। उनले सन् २०२४ को अप्रिलमा गोमेजले प्रधानमन्त्रीकी श्रीमतीको हैसियतको दुरुपयोग गरी निजी लाभ लिएको वा नलिएको विषयमा अनुसन्धान सुरु गरेका थिए।
मुद्दा कम्प्लुटेन्स विश्वविद्यालय मा गोमेजले सह–निर्देशन गरेको एक पदको स्थापना तथा सञ्चालनसँग सम्बन्धित रहेको बताइएको छ। सार्वजनिक स्रोत र व्यक्तिगत सम्बन्धलाई निजी हितका लागि प्रयोग गरिएको आरोपसमेत अनुसन्धानको केन्द्रमा रहेको छ।
गोमेजले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै सबै आरोप अस्वीकार गरेकी छन्। प्रधानमन्त्री सान्चेजले पनि आफ्नी श्रीमतीमाथिका आरोपलाई दक्षिणपन्थी शक्तिहरूले सरकारलाई कमजोर पार्ने उद्देश्यले चलाएको अभियानको हिस्सा भएको बताएका छन्।
यता विपक्षी दलहरूले भने घटनालाई गम्भीर रूपमा लिँदै प्रधानमन्त्री सान्चेजको राजीनामा माग गरेका छन्। दक्षिणपन्थी निकट एक भ्रष्टाचारविरोधी समूहले दायर गरेको उजुरीका आधारमा यो मुद्दा सुरु भएको हो। प्रधानमन्त्री सान्चेजको परिवार र पूर्व सहयोगीहरूसँग सम्बन्धित अन्य भ्रष्टाचार प्रकरणहरूका कारण पनि उनको अल्पमत गठबन्धन सरकारमाथि दबाब बढिरहेको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












