पृथ्वीचोक बसपार्क क्षेत्रका थप ३२० सटर हटाइए



लेखनाथ, ६ असार । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत शनिबार थप ३२० सटर हटाइएको छ। बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउने अभियान निरन्तर जारी रहेको छ।

पोखरा–९ स्थित पृथ्वीचोकमा रहेको बसपार्क क्षेत्रमा बिहीबार दुई सय घरटहरा भत्काइएपछि शनिबार बास्तोला कम्प्लेक्ससहित थप संरचना हटाइएको हो। बसपार्कका लागि अधिग्रहण गरिएको र पछि सट्टाभर्नाका रूपमा उपलब्ध गराइएको जग्गामा बनेको उक्त कम्प्लेक्स हटाइएको जनाइएको छ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी ले बास्तोला कम्प्लेक्स तथा उत्तरतर्फ जग्गाधनी पुर्जा भएका क्षेत्रका संरचना हटाइएको बताए।

पोखरा महानगरपालिका ले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका करिब साढे पाँच सय सुकुम्बासी परिवारको छानबिन गरिरहेको छ। महानगर प्रमुख धनराज आचार्य ले बसपार्क निर्माण अभियानमा सबै पक्षको सहयोग प्राप्त भएको उल्लेख गर्दै अधिग्रहण गरिएको सम्पूर्ण क्षेत्रलाई बसपार्कका रूपमा विकास गरिने बताए।

उनका अनुसार सुकुम्बासीको व्यवस्थापन र गुरुयोजनाअनुसार बसपार्क निर्माणको काम अघि बढाइएको छ। महानगरले आगामी आर्थिक वर्षको बजेटमा अतिक्रमित जग्गा संरक्षण तथा व्यवस्थापनका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरद्वारा गठित छानबिन समितिले बसपार्क क्षेत्रका ५७२ सुकुम्बासी परिवारमध्ये ३३७ परिवारको छानबिन सम्पन्न गरिसकेको जनाएको छ। सुकुम्बासी व्यवस्थापन प्रक्रिया टुंगिएसँगै बसपार्क निर्माणको काम अगाडि बढाइने बताइएको छ।

यसअघि जग्गाधनी पुर्जा भएका व्यक्ति तथा केही सुकुम्बासीले स्वेच्छाले संरचना खाली गरेपछि टहरा भत्काएर बसपार्क क्षेत्र सम्याउने काम सुरु गरिएको थियो। बसपार्क क्षेत्रमा एक सरकारी विद्यालय र टोल विकास संस्थाका भवनसमेत रहेका छन्।

पाँच दशकअघि पृथ्वीचोकमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। अतिक्रमणका कारण हाल उक्त क्षेत्र करिब २६ रोपनीमा सीमित भएको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्