युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको शेयर कारोबार आइतवारदेखि


 


काठमाडौं, पाैष ४
युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ पुस ३ गते शुक्रवार धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको संस्थापक र सर्वसाधारण तर्फको गरी कुल ४२ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

संस्थापक तर्फ रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार र सर्वसाधारण तर्फको रू. १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ स्थानियमा १० र अन्य सर्वसाधारणमा १५ प्रतिशत गरी २५ प्रतिशत रहेको छ ।

आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार योग्य हुने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले मूल्य रेञ्ज समेत तोकेको छ । नेप्सेले सुरुवाती कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७९ देखि रू. २९६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको हो ।

यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरेको थियो भने दोस्रो चरणमा अन्य सर्वसाधारणमा जारी गरेको थियो । स्थायियलाई असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री गरी कात्तिक १७ गते बाँडफाँट गरेको थियो भने अन्य सर्वसाधारणलाई मंसिर ३ गतेदेखि ७ गतेसम्म विक्री गरी मंसिर १४ गते बाँडफाँट गरेको थियो ।

यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ ।

प्रकाशित मिति: ४ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्