अज्ञात समूहद्धारा सुत्केरीको हत्या


 


बुटवल, कार्तिक १३

रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहको आक्रमणबाट हत्या गरिएकी २२ वर्षीया महिलाको हत्यामा लुटेरा समूह रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ ।

जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।  दुई महिनाकी सुत्केरीसमेत रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो ।

लुटपाटमा आएको समूहले उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोही अनुसार अनुसन्धान भइरहेको डिएसपी मरासिनीले बताए ।

मृतक पाण्डेका पति लामो समयदेखि वैदेशिक रोजगारीमा रहदै आएका छन् । राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर हत्या गरी लुटपाट गरिएको थियो ।

घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३.३० बजे मात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ अस्पताल पु¥याउँदा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्