आईसीसीले नेपालमा छिट्टै प्रतिनिधि पठाउने


 


nepal-cricket-and-iccकाठमाडाैं, कार्तिक १८

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सल्लाहकार समूहको कार्यविधिबारे असन्तुष्टि जनाउँदै नेपालले पठाएको पत्रको जवाफ दिएको छ । र, छिट्टै नेपालमा प्रतिनिधि पठाउने बताएको छ ।

नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको आईसीसीले विधान संशोधनको मस्यौदा तयार पार्न सल्लाहकार समिति बनाएको छ । तर, समितिको नेतृत्व र कार्यविधिप्रति सल्लाहकार समितिका सदस्यहरु सन्तुष्ट छैनन् र समिति गठन भएको लामो समय हुँदा पनि बैठक बसेको छैन ।

नेपालको असन्तुष्टिबारे जानकारी दिँदै युवा तथा खेलकुद मन्त्रालयले आईसीसीलाई पत्र लेखेको थियो । मन्त्रालयका सहसचिव एवं सल्लाहकार समितिका सदस्य पुडामणि पौडेलले भने, आईसीसीले सकारात्मक जवाफ दिएको छ र बसेरै छलफल गरौं भनेको छ ।’

उनका अनुसार यसका लागि आईसीसीका प्रतिनिधि नेपाल आउनेछन् । तर, को र कहिले आउने भन्ने तय भएको छैन । आईसीसीले सल्लाहकार समूहको नेतृत्व गर्ने अमर शेखले गर्ने बताएको थियो । तर, नेपालले भने आफूले नेतृत्व पाउनु पर्ने दाबी गरेको छ ।

र, निर्वाचित क्यान नबन्दासम्म नेपाली क्रिकेटको सबै गतिविधि सल्लाहकार समितिमार्फत नै गराउनु पर्ने नेपाली पक्षको प्रस्ताव छ । साथै सल्लाहकार समितिका सदस्यलाई कुनै पनि बेला हटाउन सक्ने कार्यविधिमा नेपालको आपत्ति छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्