जनकपुरमा मुखर्जीको नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न


 


pranab-mukharjee

काठमाडौं, कात्तिक १९
तीन दिने नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ ।

नेपालको तीन दिने राजकीय भ्रमणको लागि गएको बुधबार नेपाल भ्रमणमा आएका मुखर्जीले शुक्रबार जनकपुर पुगेर जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।

नागरिक अभिनन्दन कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन पत्र पढेर सुनाए ।

नेपाली, मैथिली र अंग्रेजी तीन भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्यालगायतका विभिन्न सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको बारेमा उल्लेख गरिएको थियो ।

नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा दुईवटा धर्मशाला र चक्रपथ भारत सरकारले  निर्माण गर्ने घोषणा गरे

यस अघि मुखर्जीलाई जानकी मन्दिर परिसरमा उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले स्वागत गरेका थिए ।

मध्यान्ह साढे ११ बजे जनकपुर विमानस्थलमा पुगेका मुखर्जी साढे १ बजे पोखराकालागि उडेका छन् ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्