महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा सांसदहरूको जोड


 


samsadकाठमाण्डौ , कार्तिक २६

सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्ताव पारित गर्न खुट्टा नकमाउन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

अख्तियार प्रमुख कार्की अदालतको काम कारबाही प्रभावित पार्नेदेखि विभिन्न गलत काममा संलग्न रहेको पुष्टि भइसकेकाले महाअभियोग प्रस्ताव पारित गर्नबाट पछि हट्न नहुनेमा सांसदहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

आज व्यवस्थापिका संसदको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले कानुन हातमा लिएर सर्वोच्चको काममा अवरोध पुर्याएको, अधिकारको दुरुपयोग गरी उदण्ड मच्चाएको भन्दै सबै दलले एक भएर महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएका हुन्।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संवैधानिक निकायको प्रमुख रहेका कार्कीले संसदीय समितिले बोलाउँदा छलछाम गरेर जनमतको उपेक्षा गरेको आरोप लगाए।

महाअभियोग प्रस्ताव पारित हुदा संवैधानिक निकाय निकम्मा हुन्छ भन्ने हल्ला फिँजाएर कार्कीलाई बचाउन चलखेल सुरू भएको भन्दै उनले महाअभियोग प्रस्तावको राष्ट्रिय एजेण्डामा एक साथ उभिन सबैलाई आग्रह गरे।

नेकपा एमालेका सांसद पुरुषोत्तम पौडेलले कार्कीले कानुनको उल्लंघन गरेर लोकतन्त्रको उपहास गर्दा संसद मौन बस्न नहुने बताए।
उनले संवैधानिक निकायका प्रमुखले नै अदालतको काम कारबाही प्रभावित पारेर विधिको शासनको उल्लंघन गरेकाले महाअभियोग लगाउनैपर्ने तर्क गरे।

सांसद पौडेलले संविधानले दिएको अधिकार अनुसार लोकतान्त्रिक प्रक्रियाबाट महाअभियोग प्रस्ताव आएकाले कुनै दलले आशंका गर्न नहुने बताए।

नेकपा मालेका सांसद शिवचन्द्र चौधरीले विगतमा गलत काम गरेको पुष्टि भए पनि प्रमुख दलले कार्कीलाई अख्तियारमा नियुक्त गरेर गम्भीर गल्ती गरेको आरोप लगाए। उनले विधिको शासन र कानुनी व्यवस्थाको उल्लंघन गरेकाले कार्कीलाई कारबाही गर्नैपर्ने तर्क गरे।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कार्कीको विगत जानकारी भए पनि प्रमुख दलहरूले विदेशीको दबाबमा अख्तियारमा नियुक्त गरेको आरोप लगाए। एक सय ५७ जना सांसदहरूको हस्ताक्षरसहित गत असोज ३ गते कार्कीविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्