राप्रपा कुनै हालतमा सरकारमा जानु हुँदैन, जाने भए यी ३ सर्त राख्नुपर्छ : रवीन्द्र मिश्र


 


काठमाडौं, पाैष १३
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी कुनै हालतमा सरकारमा जान नहुने बताएका छन् । बहुमतको सरकार बन्न नसक्ने अवस्थामा सरकार गठनमा समर्थन गरेको स्पष्ट पारेका उनले सरकारमा भने जान नहुने बताएका हुन् ।

बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा सरकार गठनमा राप्रपाले समर्थन गरे पनि सरकारमा जान नहुने मिश्रले बताए ।

राप्रपासहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राप्रपासँग प्रतिनिधि सभामा १४ सिट छ । वरिष्ठ उपाध्यक्ष मिश्रले मंगलबार ट्विट गर्दै तीनवटा सर्तमा मात्रै सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिन सकिने बताएका छन् ।

उनले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गर्न पहिलो सर्त अघि सारेका छन् । यस्तै संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधान सभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक र जनचाहना अनुरूप निर्णय गर्न उनको दोस्रो सर्त छ ।

उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्न उनले तेस्रो सर्त राखेका छन् ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्