सुर्खेतमा भोलि रिङ्ग रेस्लिङ्गको महाभिडन्त, तयारी पूरा



सुर्खेत, जेठ १२ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा भोलि (शनिबार) “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ ।

खुल्लामञ्च घण्टाघरमा हुने उक्त प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेजविक्रम बस्नेतले जानकारी दिए ।

बीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार एक कार्यक्रमबीच नगरपालिकाकी मेयर मोहनमाया भण्डारी (ढकाल), प्रदेश खेलकुद बिकास परिषदका उपाध्यक्ष प्रमोद हमाल लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा नगर प्रमुख भण्डारीले प्रतियोगिताले समग्र खेलकुद विकाससंगै खेलकुद मार्फत नगरको पर्यटन विकासका लागि महत्वपूर्ण हुने बताइन् । उनले सम्पूर्ण नगरवासीहरुलाई खेलको मनोरन्जन लिन कार्यक्रमस्थल खुल्लामञ्चमा आउन आग्रह समेत गरिन् ।

प्रतियोगिताअन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृति भिड्ने छन् । त्यसै गरी ट्याग टिममात टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् । लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार, मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

एकेडेमीका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज बस्नेतले नगरपालिकाले खेलाडीहरुलाई स्वागत गरी आयोजक तथा खेलाडीहरुको हौसला बढाएकोमा आभार व्यक्त गरे । उपाध्यक्ष बस्नेतले प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल हुनु साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रवेश निशुल्क रहेको प्रतियोगितालाई करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News