Deshko News
१८ आश्विन २०८०, बिहिबार

निःशुल्क उपचार नगर्ने ६८ स्वास्थ्य संस्थालाई ७ दिनभित्र बन्द गर्ने बालेनको चेतावनी



काठमाडौं, जेठ १७
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालहरूको सूची बुझाएका छन् । मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाएको र कारबाहीको दायरामा ल्याउन बालेनले आग्रह गरेका हुन् ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अटेर गर्ने काठमाडौं महानगरपालिकाभित्रका ती अस्पतालाई कारबाहीको दायरामा नल्याइए महानगर आफैं अग्रसर हुने मेयर बालेन शाहले चेतावनी दिए ।

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं । यदि मन्त्रीज्यूले ७ दिन भित्र अस्पताललाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं,’ उनले फेसबुकमा लेखेको छन् ।

प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टयाएर निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधा उपलब्ध गराउन यसअघि नै ध्यानाकर्षण गराइसकिएको बालेनले जानकारी दिए ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News