नेपाललाई हराउँदै मलेसिया बराबरीमा, अन्तिम खेल निर्णायक हुने


 


काठमाडौं, जेठ २० । पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई ४ विकेटले हराउँदै मलेसियाले २–२ को बराबरी गरेको छ । शनिबार बिहान नेपाली राष्ट्रिय महिला टिमले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर पूरा गरेको हो ।

मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३८ रन बनाइन् । उनले ५२ बलमा २ चौकासहित उक्त योगफल तयार पारेकी हुन् । त्यस्तै माहिरा इजाती इम्माइलले १६ रन बनाउँदा मास इल्यासा यास्मिन जुल्किफ्लीले १३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर र कविता जोशीले १/१ विकेट लिए ।

यसअघि मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् ।

त्यस्तै बिन्दु रावलले २४ रन बनाउँदा कविता कुँवरले नटआउट १२ रन बनाइन् । मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै माहिरा इजाती इस्माइल र आइसा इलिसा फिरदौजले १/१ विकेट लिए ।

यसअघि नेपालले मलेसियाविरुद्ध दोस्रो र तेस्रो खेल जितेको थियो । तेस्रो खेल नेपालले २७ रनले जितेको थियो भने दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्