नेपाल पाकिस्तानसँग पराजित, ७८ रनमै सीमित


 


काठमाडौं, जेठ ३० । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ुएु ले नेपाललाई हराएको छ। हङकङको मङकङमा भएको खेलमा पाकिस्तान ‘एु’ ९ रनले विजयी भएको हो ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रनमा सिमित भयो। ओपनर कविता कुँवरले २० रन जोड्नुबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा नेपाल ऐतिहासिक जित हासिल गर्नबाट बन्चित भएको छ। नेपालले मध्य ओभरमा लगातार विकेट गुमाएपछि खेलमा निकै दबाब खेप्नुपरेको थियो।

नेपालले संयम सुरुवात गरेपनि सातौं ओभरमा ओपनर सीता रानामगरको साथ गुमाएको थियो। ६ रन जोड्दै सीता आउट हुँदा नेपाल १६.१ को स्थितिमा थियो। त्यसपछि विन्दु रावल ३ रन जोड्दै दशौं ओभरको पहिलो बलमा एलबीडब्लू धरापमा परेको हो।

१३ औँ ओभरको चौँथो बलमा इन्दु ४ रन जोड्दै साएदा अरुबा शाहको बलमा बोल्ड भइन् । १५ औं ओभरमा सम्झना खड्का ७ रन जोड्दै आउट भएपछि नेपालको जितको सम्भावना पातलिएको थियो । लगत्तै अर्को ओभरमा कप्तान रुविना क्षेत्री आउट भएपछि नेपाल ५३.६ को स्थितिमा पुग्यो । रुविनाले ६ रन जोडिन्।

मध्यक्रमका ब्याटर कविता जोशी १ चौकासहित १५ रनमा नटआउट रहिन् । ज्योति पाण्डेले नटआउट ९ रन जोडेपनि नेपाल जितसम्म पुग्न सकेन । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा नेपालले मात्र ७ रन जोडेको थियो ।

त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.२ ओभरमा ८७ रनमा अल आउट भयो । नेपाललाई ओपनर कविता कुँवरले पहिलो सफलता दिलाएकी थिइन् । लगातार योर्करका साथ उनले दबाबमा राखेकी थिईन् ।

ओपनर इयामा फतिमा कविता कुँवरको बलमा इन्दु बर्माबाट शुन्यमा क्याच आउट भएकी थिइन्। स्पिनर कविता जोशीले छौटौं ओभरको तेस्रो बलमा सदाफ शमासलाई १२ रनमा बोल्ड आउट गरिन्। एक बलपछि नतालिया प्रबेज ठुलो सट खेल्ने धुनमा विकेटकिपर ज्योति पान्डेबाट क्याच आउट भइन्।

गुल फेरोजा १८ बलमा २ चौकासहित १२ रनमा आउट भइन् उनी सीता राना मगरको बलमा क्याच आउट हुन पुगेकी थिइन् । नेपालले सानदार बलिङ गरेपछि एक समय पाकिस्तान ६५.७ को दयनीय अवस्थामा पुगेको थियो।

तुबा हसन र फातिमा सानाले आठौं विकेटका लागी २७ रनको साझेदारी गरेका थिए। तुबा हसन १४ बलमा १ छक्कासहित ९ रनमा इन्दुको बलमा कट एन्ड बोल्ड आउट भईन् । इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् ।नेपालले अब बिहीबार समूहको दोस्रो खेलमा भारत ए को सामना गर्नेछ।

प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्