टेस्ट राष्ट्रविरुद्ध पहिलो अर्धशतक बनाउने पहिलो नेपाली बने कुशल


 


काठमाडौं, असार ३ । नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बनेका छन् ।

कुशलले आईसीसी विश्वकप छनोटको पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ६३ बलमा आठसहित ५० रन पूरा गरे ।

एकदिवसीय क्रिकेटमा कुशलको यो छैटौँ अर्धशतक हो । कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।

हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले अहिले २० ओभरमा विकेट नगुमाई ८४ रन बनाएर खेलिरहेको छ । ब्याटिङमा कुशललाई साथ दिइरहेका आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।

नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपालले यसअघि जिम्बाब्वेविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्