वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य


 


काठमाडौं, असार ७ । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।

जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो ।

यो नेपालविरुद्ध विपक्षी टोलीले बनाएको ओडिआईमा उच्च योगफल हो । यसअघि आइसिसी विश्वकप लिग–२ मा केहि महिना अघि युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो ।

वेस्ट इन्डिजका कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनमा आउट भए । उनी अन्तिम ओभरको दोस्रो बलमा स्पिनर ललितको बलमा भीम सार्कीबाट क्याच आउट भए । यो उनको ओडिआई करिअरको १५ औं शतक हो ।

निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । पुरनको यो ओडिआई करिअरको दोस्रो शतक हो । उनले २०१९ को विश्वकपमा श्रीलंकाविरुद्ध हानेको १ सय १८ रनको शतकीय इनिङपछि पहिलो पटक शतक हानेका हुन् । पुरनले शतक बनाउन दुई जीवनदान पाएका थिए । विकेटकिपर आसिफ शेखले पुरनलाई ब्यक्तिगत ३ र ५४ रनमा क्याच ड्रप गर्दै जीवनदान दिएका थिए ।

एक समय वेस्ट इन्डिज १५।३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । यी दुई खेलाडीको साझेदारी दीपेन्द्रले तोडेका थिए । दीपेन्द्रले ४४ औं ओभरको अन्तिम बलमा पुरनलाई कट एन्ड बोल्ड गर्दै पेभेलिएन फर्काएका हुन् । दीपेन्द्रले एक हातले उत्कृष्ट क्याच लिएका थिए ।

नेपालले सुरुवात भने सानदार गरेको थियो । तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा बायाँ हाते ओपनर कायल मेयर्सको क्याच कुशल भुर्तेलले मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याचका साथ पेभेलिएन फर्काएका थिए ।

गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् । त्यो समय वेस्ट इन्डिज ९–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।

सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका थिए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।
रोभम्यान पावेल १४ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । किमो पल १ रनमा आउट हुँदा जेसन होल्डर १४ बलमा २ चौकासहित १६ रनमा नट आउट रहे ।

नेपालका स्पिनर ललित नारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्