भारतमा विश्वकप खेल्ने/नखेल्नेबारे निर्णय गर्दै पाकिस्तान, मन्त्रीको नेतृत्वमा समिति गठन


 


एजेन्सी । भारतमा हुने आईसीसी विश्वकप क्रिकेटमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न पाकिस्तान सरकारले समिति गठन गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विश्वकपमा सहभागिताको निर्णय गर्न विदेशमन्त्री बिलावल भुट्टोको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका छन्।

समितिले पाकिस्तान र भारतबीचको सम्बन्ध, खेलकुद र राजनीतिलाई छुट्टाछुट्टै राख्ने सरकारको नीति र भारतमा खेलाडी, अधिकारी, फ्यान र सञ्चारमाध्यमका लागि वातावरण बनाउने सरकारको नीतिलाई विचार गरी सरिफसमक्ष आफ्नो सिफारिस बुझाउनेछ।

प्रधानमन्त्री पाकिस्तान क्रिकेट बोर्डका मुख्य संरक्षक हुन्। विश्वकपको कार्यतालिका घोषणा भइसकेको अवस्थामा पाकिस्तानी टोलीले विश्वकपमा सहभागी हुने अपेक्षा गरिएको छ।

भारत र पाकिस्तानबीचको खेल अक्टोबर १५ मा अहमदाबादमा हुनेछ। अक्टोबर ५ बाट शुरू हुने प्रतियोगितामा ४६ दिनसम्म भारतका विभिन्न १० शहरमा हुनेछ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्