प्रधानमन्त्री कप भलिबल सुरु, पुलिसको विजय सुरुवात


 


काठमाडौं, असार २३ । नेपाल भलिबल संघको आयोजनमा आज (शनिबार)देखि राजधानीमा सातौँ प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।

लिगको उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाबीच लिगको उद्घाटन गरे । श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।

प्रतियोगितको उद्घाटन खेलमा नेपाल पुलिसले पुलिसतर्फ विजय सुरुवात गरेको छ । पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै पुलिसले गण्डकी प्रदेश भलिबल क्लबसँग अङ्क बाँड्न बाध्य भएको छ ।

आज पहिलो दिनको खेलमा पुलिसले विदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेस्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो ।

चौथो सेटमा ६ अङ्कको अग्रता लिँदै जितको नजिक पुगेको पुलिसले आफूलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो । अन्तिम तथा निर्णायक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी सँग अङ्क बाँड्न बाध्य भयो । पुलिसको यस खेल पश्चात् २ अङ्क र गण्डकीको १ अङ्क भएको छ ।

आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल भयो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपीएफ क्लबले जित हात पार्‍यो । एपीएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपीएफको ३ अङ्क भएको छ ।

आजै भएको महिलाको खेलमा पुलिसक्लबले गण्डकी माथि जित हात पार्‍यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अङ्क जोड्यो ।

यस प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु। ३५÷३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५÷र१५ हजार प्राप्त गर्ने छन् ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाण्डौ, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरी ७ क्लबहरू र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्