‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरू

काठमाडौं, असार ३० । भक्तपुरमा एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरू भएको छ।
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले आज (शनिबार) भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले साइकलिङ च्यालेन्ज आयोजना गरेको हो ।
उक्त च्यालेन्ज बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गरेका हुन्। तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नाका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउँदै आएको गोसाईंले बताए।
सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेन्जले साइकल यात्रीलाई प्रोत्साहन दिनाका साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याएको उनको भनाइ छ ।
संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यस वर्ष कार्यक्रममा छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहेको बताए। उनले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएको साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट हुँदै चाँगुनारायणसम्म पुगेको छ।
यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, विरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमी, सल्लाघारी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा पुगेर साँझ ७ बजे समापन गरिने संयोजक बालाले बताए।
प्रकाशित मिति: ३० असार २०८०, शनिबार
















