भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त

काठमाडौं, असार ३१ । राष्ट्रिय भलिबल टिमका कप्तान हरिहजुर थापालाई बर्खास्त गरिउको छ ।
नेपाल भलिबल संघले थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै कप्तान पदबाट हटाएको हो ।
संघले सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको जनाएको छ ।
सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।
महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।
विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई पनि क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।
प्रकाशित मिति: ३१ असार २०८०, आइतबार
















