नेपालले टेष्ट राष्ट्र श्रीलङ्काको सामना गर्ने


 


काठममाडौँ, मंसिर १२

थाइल्यान्डमा जारी एसिया कप ट्वान्टीट्वान्टी महिला क्रिकेट प्रतियोगितामा नेपालले भोलि श्रीलङ्काको सामना गर्नेभएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ टेष्ट राष्ट्र श्रीलङ्काको सामना गर्नेछ ।

एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गरेको उक्त प्रतियोगितामा शनिबार भएको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।

उक्त प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भारत गरी ६ टोलीको सहभागिता रहेको छ ।यसअघि सन् २००७ मा एसीसी महिला प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

त्यस्तै सन् २००८, २०१०, २०१२ मा एसिसी यू–१९ च्याम्पियनसिपको उपाधि नेपालले जितेको इतिहास छ ।

प्रकाशित मिति: १२ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्