एनआईसी एशियाको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, अब आवाजबाटै भुक्तानीको जानकारी


 


काठमाडौं, साउन १२ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ ।

यस बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेन्टहरूले आफ्ना सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सकिनेछ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।

बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको जनाएको छ । समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५४६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी छ ।

स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाएको बैंकले जनाएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्