पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास


 


काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका मल्लले यसैवर्ष जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन् ।

यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए ।

सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेले ।
सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहे ।

२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए । उनी २०७८ मंसिरसमम नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए ।

तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए ।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए ।

पोहोर साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उनले टोलीमा पुनरागमन गरेका थिए । ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० आई क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्